अंशले कंश बनाएपछि वंश नाश
किन बन्दैछ मान्छे दानव ?
२१ जेठ, काठमाडौं । आफ्नै भाउजु र
दाजुभाइका छोराछोरीलाई कसैले खुकुरी हानेर मार्न सक्ला ? सामान्य मान्छेले
यस्तो गर्न त के, सोच्न पनि सक्दैन । तर मान्छेमा राक्षसी प्रवृत्ति
घुसेपछि रगतको नाता समेत बिर्संदो रहेछ । आफ्नै बाबु, आमा, श्रीमती,
श्रीमान, छोराछोरीको हत्या गरिएका घटना बेलाबेला सुन्नुपर्ने नियति अझै
घटेको छैन । रीस उठेको बेला गाली गर्नु या केटाकेटीलाई यसो पिट्नु सामान्य
नै होला । तर रीसको झोंकमा अवोध भतिजाभतिजी र भाउजुको समेत हत्या गरेको
कहालीलाग्दो घटना सुनेर यतिखेर सबैको आङ जिरिंग भएको छ ।
बझाङको स्याडी गाविसमा शनिबार राति दुई
दाजुभाइबीचको अंश विवादले परिवारका सातजनाको निर्मम हत्या भएको छ । दाजु
विरजीत बिकले आफ्नै भाई गगनका दुई छोराछोरीको खुकुरीले हत्या गरेपछि गगनले
पनि विरजीतकी श्रीमती तथा आफ्नी भाउजु र चार भतिजाभतिजीको त्यसैगरी हत्या
गरेका हुन् । अंश विवादले दुवै दाजुभाइलाई कंश बनायो । रीसको झोंकमा आँखा
नदेखेर अवोध छोराछोरी र भाउजुको हत्या गरेपछि उनीहरु अहिले मानसिक सन्तुलन
गुमाएको अवस्थामा पुगेका छन् । दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि सिंगो स्याडी गाउँ शोक र त्रासमा डुबेको छ । परिवार, आफन्त र
छरछिमेकीमा रुवावासी र आतंक छाएको छ नै । यो घटना सुन्नेलाई पनि स्तब्ध र
आक्रोशित बनाएको छ ।
दानवरुपी मान्छे
बझाङको यो घटना पहिलो हैन । यसअघि पनि
यस्ता थुप्रै घटना सार्वजनिक भएका थिए । केही महिनाअघि सशस्त्र
प्रहरीकाएकजना बरिष्ठ अधिकारीले आफ्नै श्रीमतीलाई क्रुरतापूर्वक हत्या
गरेको घटना सार्वजनिक भएको थियो । बाबुले छोरो मारेको, छोरोले बाबुआमा
मारेको जस्ता घटना बारम्बार सार्वजनिक भैरहँदा मिलेर बसेका परिवारमा समेत
अनावश्यक आशंका र अविश्वास सृजना गर्ने गरेको छ । मनोविज्ञहरुका अनुसार
मान्छेको तीव्र इच्छा, आकांक्षा र राजनीतिक तथा सामाजिक परिवेशले आपराधिक
घटना बढाउन सहयोग गरेका छन् । ‘पछिल्ला १० वर्षमा २५ प्रतिशतले यस्ता घटना
बढेका छन्, त्यसमा पनि युवा उमेरका मान्छेमा यस्तो मनोवृत्ति बढेको पाइन्छ’
मनोविज्ञ डा. गंगा पाठकले भन्नुभयो ।
आफूसँग भैरहेको भन्दा केही बढी खोज्ने
व्यक्तिको इच्छा र चाहनाले उसमा रीस, आवेग र उत्तेजना बढाउँछ । ‘सानोतिनो
कुरामा पनि तुरुन्दै आवेग र उत्तेजनामा आउने तथा त्यसलाई व्यवस्थापन गर्न
नजान्दा यस्ता घटना बढेका छन्’ पाठकले भन्नुभयो -’यस्ता संवेगलाई
व्यवस्थापन या नियन्त्रण गर्न सकेमा यस्ता घटना हुन पाउँदैन ।’ पारिवारिक
संरचनामा एकले अर्कोलाई सहयोग तथा भावनात्मक रुपमा सन्तुष्टी लिने काम
विस्तारै कम हुँदै गएको र आरिसे प्रवृत्तिले यस्ता घटना बढाएको उहाँको भनाई
छ ।
नियन्त्रण गर्न सकिन्छ
रीस र तनाव हुनु मानवीय स्वभाव नै हो । तर
यसलाई व्यवस्थापन र नियन्त्रण गर्न नसक्दा यसले हिंसाको रुप लिन्छ ।
त्यसैले रीस नियन्त्रण गर्न सबै व्यक्तिले जान्नुपर्छ । मनोविज्ञ पाठकका
अनुसार रीस उठेमा यसो गर्नुपर्छ :
· रीस उठ्ने बित्तिकै आफ्नो ध्यान अन्यत्रै मोड्न प्रयत्न गर्ने
· रीस उठेको मान्छेको वरिपरी नपर्ने र त्यो ठाउँ छोडेर अन्यत्र जाने
· एक ठाउँमा गएर भूईंतिर फर्की मुट्ठी कस्ने
· पानी पिउने
· केही लेख्ने, पढ्ने, सकेसम्म दिमागलाई अरु कुनै कुरामा केन्दि्रत गर्ने ।
तर मान्छेले यी कुराको ख्याल नगर्दा
आपराधिक मनोवृत्ति बढिरहेको छ । त्यसैले मनोपरामर्श केन्द्रलाई विस्तार
गर्नुपर्ने विज्ञहरुको जोड छ । अहिलेसम्म हाम्रो देशमा मनोरोगको अन्तिम
अवस्था अर्थात पागल हुँदा मात्रै उपचार गर्ने ठाउँ छ । तर पागल हुनुभन्दा
पहिलेको अवस्था अर्थात मनोरोगको शुरुवाती अवस्थालाई उपचार गर्ने ठाउँ छैन ।
‘गाउँठाउँमा रहेका हरेक स्वास्थ्य केन्द्र र विद्यालयमा यस्ता परामर्श
केन्द्र स्थापना हुनु जरुरी छ’ मनोविज्ञ पाठकले भन्नुभयो -’सामान्य रोगको
परीक्षण गर्ने अस्पताल भएजस्तै रीस र निराशापन नियन्त्रण कसरी गर्ने भनेर
जाँच गर्ने ठाउँ पनि हुनुपर्छ ।
No comments:
Post a Comment