Thursday, August 9, 2012

डम्वर रसक भारतीको तुवाँलो लघुकथा सङ्ग्रह बजारमा

 
 असार ३०
साहित्यकार डम्बर रसिक भारतीको दोस्रो लघुकथासंग्रह 'तुवाँलो' सार्वजनिक भएको छ। शुक्रबार राजधानीको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले तुवाँलो सार्वजनिक गरेका हुन्।

डिकुरा पब्लिकेशन्सद्वारा प्रकाशित 'तुवाँलो' लोकार्पणमा उपकुलपति उप्रेतीले रसिकको साहित्यिक यात्रालाई शुभकामना दिंदै उनको कृतिले साहित्यिक विधा लघुकथाको मात्र नभई सिङ्गो नेपाली साहित्यमा एउटा इँटा थपेको बताए। 'नेपाली साहित्यको बजारमा लघुविधाका सिर्जनाहरुमा पाठकहरु उत्साहित भएका छन्,'उनले भने। उनले प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको विकासका लागि विशेष पहलकदमी गरिरहेको बताए।
दुई दशकदेखि साहित्यमा समर्पित रसिकको 'तुवाँलो' अघि 'भूइँकुहिरो' लघुकथासंग्रह र 'प्राथमिक विद्यालय' बालउपन्यास प्रकाशित छन्। जमघट द्वैमासिकका सम्पादक रसिक साहित्यिक पत्रकारितामार्फत् जिल्लाको साहित्य विकासमा सक्रिय रहँदै आएका छन्।
कार्यक्रममा तुवाँलो कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै साहित्यकार एवम् युवामञ्च मासिकका प्रधानसम्पादक श्रीओम श्रेष्ठ 'रोदन'ले रसिकका कथाहरु छोटा भएर मात्र लघुकथा नभएको बताए। 'कृतिभित्रका कथाहरु संरचनागत दृष्टिले अब्बल छन्,' उनले भने, 'पचासको दशकमा प्रकाशित भएको रसिकको 'भूइँकुहिरो'मा भन्दा यसमा कथा माझिएका छन्।' उनले रसिकको कथाकारिता अब्बल दर्जाको भएको बताए।
कार्यक्रममा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, 'तुवाँलो'का चित्रकार तथा साहित्यकार अमित घिमिरे, साहित्यकार गेहनाथ गौतमलगायतले रसिकको साहित्यकारिताबारे चर्चा गरेका थिए। कार्यक्रममा 'तुवाँलो'का कथाकार डम्बर रसिक भारतीले कृति प्रकाशनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे। कार्यक्रममा जिल्लाका चार दर्जन भन्दाबढी साहित्यकार र पत्रकारहरुको उपस्थिति थियो।

यस्ता थिए चेली बेचविखनका नाइके बजिरसिंह

 चेली बेचविखनका नाइके बजिरसिंह
 मानव बेचविखनका …नाइके' बजिरसिंह तामाङद्धारा बेचिएका ६ चेलीको सामूहिक चित्कार हो यो। गत साता लगातार चार दिन जिल्ला अदालतमा बयान दिंदा उनीहरु यसैगरी आततायी अतित सम्झदै थिए। पटक–पटक बेचविखन कार्यमा संलग्न पाइएपछि नैतिक पतन देखिने फौजदारी अभियोगसहित मानव बेचविखन मुद्दामा डेढ वर्षदेखि पुर्पक्षमा थुनामा रहेका शिखरपुर–९ का बजिर …दलाल' मात्र नभएर बेश्यालय सञ्चालक समेत रहेको पीडितहरुले खुलाएका छन् ।


उनीहरुका अनुसार भारतको आग्रा सहरस्थित सहिद नगरमा बजिरको आफ्नै कोठी छ। पक्राउ पर्नु अघिसम्म श्रीमतीसहित उनी कोठी सञ्चालन गर्दै आएका थिए। नेपाली चेली भारत लगेर यौन व्यवसायमा लगाउन आफ्नै सञ्जाल तयार गरेपनि उनी फकाउन गाउँमा भने कमै निस्कन्थे। सहयोगी मार्फत राजधानी पुग्ने चेली लिन भने उनी भारतबाट आइपुग्थे। बेला–बेला उनी पजेरो लिएर गाउँ आउँथे।
नेपाली चेली भारतमा लगेर बेचेको आरोपमा नेपाल प्रहरीले सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा रहेका ३७ वर्षीय बजिरलाई २०६७ मंसिर १४ गते प्रहरी प्रभाग सोह्रखुट्टेले राजधानीबाट पक्राउ गरेको थियो। पक्राउपछि उनी चेली बेच्ने गिरोहका नाइके भएको खुलासा भएपछि मुद्दा परेको जिल्ला सिन्धुपाल्चोक ल्याएर अनुसन्धान थालिएको थियो। उनी पक्राउ पर्नुअघि जिल्ला प्रहरीमा चार पीडित किशोरीको किटानी जाहेरी परिसकेको थियो। पक्राउपछि थप दुई चेली प्रहरीको सम्पर्कमा आएका थिए।
…दलाल'बाट सञ्चालक
पश्चिमी सिन्धुपाल्चोकका उनी सामान्य किसान परिवारका हुन्। सामान्य लेखपढ गर्न जान्ने उनी सानैदेखि ट्याक्सी चलाएर पेट पाल्थे। नुवाकोट विहे गरेकी उनकी दिदी तारा तामाङ भारतमा कोठी चलाएर बस्थिन। एक दिन ताराले बजिरलाई सम्पर्कमा आइसकेकी एक युवती भारत ल्याउन अह्राइन। उनी ती युवती लिएर पहिलो पटक भारत पुगे। …यस बापत ताराबाट उसले एक लाख भारु पायो,' बेचिएर फर्केपछि भारत बस्दा चिनेका सुत्र लगाएर बजिरको भित्री पाटो खोतल्न प्रयासरत …चौतारा–इ' (प्रहरीले दिएको उपनाम) ले भनिन्, …एकै पटक धेरै पैसा पाएको स्वादमा बजिरले चेली बेच्न थालेको रहेछ।'
सुरु–सुरुमा ताराकोमा युवती लगेर बेच्ने बजिर पछि आफैं कोठी सञ्चालक बने। सुरुताका उनले सिन्धुपाल्चोककै एउटा गाउँबाट एकै पटक ६ जना किशोरी लगेर बेचेको पत्ता लागेको चौतारा–इ बताउँछिन्। यीनै मध्येका रमिला तामाङ (नाम परिवर्तन) सँग उनले तेस्रो बिहे गरे। आकर्षक जिउडाल र सुन्दर अनुहारकी रमिलालाई उनले बिहे नगरे बेच्ने धम्की दिएर आफ्नी बनाएका थिए। यसै गरी धम्काएर बिहे गरेकी दोस्री श्रीमतीलाई उनले आठ महिनापछि कोठीमा बेचेका थिए। पछिल्ला दुईटीको विहे गर्नुअघि नै जेठी श्रीमतीको रहस्यमय मृत्यु भइसकेको थियो। दुई छोराकी आमा उनको …बजिर आफैंले हत्या गरेको' कान्छी श्रीमती रमिलाले आफूहरु त्यहाँ बस्दा सुनाएको चौतारा–इकी बहिनी चौतारा–एफ बताउँछिन्।
नेपालमा बजिर पक्राउ परेपछि रमिला बिहे गरेर अर्कैसँग गइसकेकी छिन्। उनीहरुका अनुसार बाध्यताबस उनीसँग विहे गरेकी रमिला यो पेशा र बजिर दुबै मन पराउँदैन थिइन्। रमिलाकै सहयोगमा चौतारा–इ र चौतारा–एफ भागेर घर फर्कन सफल भएका थिए।
को–को छन् बजिर सञ्जालमा
प्रहरीले बजिर गिरोहका आठ जनाको पहिचान गरिसकेको छ। यीमध्ये बजिरसहित तीन जना पक्राउ परिसेका छन्। बजिर गिरोहमा सुकुमान दोङ, काइला भनिने टेकबहादुर विक, उनकी श्रीमती काँइली विक, बच्चु विक/श्रीमती सीता विक, दावा तामाङ/श्रीमती माइली तामाङ आवद्ध छन्। सुकुमान बाँसखर्कका हुन भने अरु नवलपुर गाविसका। टेकबहादुर पोहोर र सुकुमान परार पक्राउ परेका थिए। पाँच जना अझै फरार छन्। टेकबहादुर पक्राउ परेपछि बजिरसिंह चेली बेच्ने गिरोहका नाइके भएको पत्ता लागेको थियो।
बजिर नाइके भएपनि फरार दावाविरुद्ध जिल्ला प्रहरीमा सात चेली बेचेको किटानी जाहेरी छ। अरुसँग मिलेर गाउँ–गाउँ डुल्दै चेली फकाउने दावा बजिरसम्म पुग्ने सुत्राधार पनि हुन्। गाउँमा चेली फकाउने मुख्य भूमिका टेकबहादुर र साइलीले खेल्दै आएका थिए। यो गिरोहले गाउँका धेरै चेली भारत लगेर बेचेको अनुमान गरिएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त लामाले फरारहरुको व्यापक खोजी भइरहेको दाबी गरे। उनले बजिर गिरोह अझै ठूलै रहेको निष्कर्षमा पुगेर प्रहरीले अनुसन्धान जारी राखेको बताए।
पछिल्लो पटक दुई वर्षअघि फर्केकी चौतारा–जेले भनिन्, …मैले छोड्दा त्यहाँ सिन्धुपाल्चोकका मात्रै कम्तिमा १५ जना दिदीबहिनी थिए। केहीलाई म पहिल्यैदेखि चिन्छु।' फरक–फरक समयमा उनीहरु सबैलाई २०६४ सालमा भारत पुर्‍याइएको थियो। कोठी धाउने ग्राहकको सहयोगमा सुरुमा फर्कन सफल चौतारा–बीका अनुसार बजिरसिंहसहितको समूहले २०६४ माघमा उनीसहित एकै पटक सात युवतीलाई भारत लगेका थिए। यसमा उनीहरुले आफ्नै खर्चमा पासपोर्ट बनाइदिएका सिन्धुपाल्चोकका पाँच चेली थिए। उनीहरुमध्ये पाँच जना फर्कन सफल भएका छन्। ओखलढुंगाकी एक युवती आफ्नै जिल्लामा मुद्दा लडिरेही छिन्। अझै सम्पर्कमा नआएकामध्येकी एक युवती अभियुक्त टेकबहादुरकी छोरी हुन्। उनी आफ्नै बाबुद्धारा बेचिएकी हुन्।
पीडितहरुका बजिरले अनुसार सुरुमा आफैंसँग र त्यसपछि आफ्नै कोठीमा यौन धन्दामा लगाउँने र पछि अन्यत्रै ठाउँमा लगेर बेच्ने गर्थे। …आफूसँग रहँदा मात्र होइन, उसको कोठी र अन्यत्र हुँदा पनि ग्राहकसँग यौनसम्पर्क राख्न नमान्दन ऊ कोर्रा बोकेर यातना दिन आइपुग्थ्यो,' यातनाले गर्धनमा बसेको घाउको खत देखाउँदै एक पीडितले भने। उनले तीन लाख भारुसम्म बेचेको उनीहरुको भोगाइ छ। आफू डेढ लाखमा बेचिएको बताउने अर्की पीडित भन्छिन्, सुरु–सुरुमा ग्राहसँग १५ हजार भारुसम्म असुल्ने बजिर पछि सय भारु लिन्थ्यो।'
(साभार : नागरिक दैनिक)

यस्तो रहेछ माओवादीले भारतलाई लेखेको पत्र


डिसेम्बर ३, २००१
महामहिमज्यू,
हामी, दुई करोड ३४ लाख नेपाली जनताका असली प्रतिनिधि र देशमा जारी क्रान्तिकारी जनताको आन्दोलनका नेता, नेपालको जारी घटनाक्रमबारे अन्तराष्ट्रिय समुदायलाई अवगत गराउन आफ्नो कतव्र्य सम्झन्छौं । र, ढल्न लागेको पुरानो । राज्यसत्ता जो अन्तिममा पनि बाँच्न खोजिरहेको छ , त्यसले एकतर्फी रुपमा गरेको प्रोपगन्डाबाट भ्रमित नहुनुहोस् भनेर सवैमा अपिल गर्न चाहन्छौ ।
पुरानो प्रतिक्रियाबादी नेपालको सत्ता जसको नेतृत्व जनताले तिरस्कार गरेका उनै ज्ञानेन्द्र शाहले गरेका छन्, जसको मुख्य षडयन्त्रमा सन् २००१ जुन १ मा राजा बीरेन्द्रको बंशनाश भयो, तर उनी अव आफ्नो हैसियतबाट चाँडै ढल्दै छन् । नोभेम्बर २६ मा घोषणा गरेको संकटकालले जनताको सवै आधारभूत अधिकारलाई कटौती गर्नुका साथै देशमा सैनिक अधिनायकबाद लागु गरेर आफ्नो हत्यारा समूहद्धारा अवैधानिक तथा अलोकपि्रय शासन लम्व्याउन खोजिएको छ । हालैका दिनमा आतंकको क्रुर साम्राज्य जस्तै उनका समर्थक समुहले जनताका भिडमा अन्धाधुन्ध हमला गर्नुका साथै महिलालाई बलत्कार, सम्पत्तिमाथि लुट तथा स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने, जनतालाई जथाभावी जेल हाल्ने इत्यादी जस्ता कार्यको सीमा नाघिसकेको छ ।
यथार्थमा हालैका घटना क्रुर दरबार हत्याकाण्डको निरन्तरता भएको गत जुनमा दरबारमा गरिएको ‘कु’ मार्फत प्रजातान्त्रिक प्रक्रियालाई नै खतरा पुर्‍याएको तथा नक्कली राजतन्त्रमार्फत सैनिक अधिनायकबाद लाद्न खोजिएको हो । जसलाई हामीले भण्डारफोर गर्दे आएका छौं । देशका सवै संवैधानिक निकायहरु र संसद् शक्तिशाली सामन्ती राजतन्त्रको लाचार छाया बनेका छन् जसले परम्परादेखि नै सशस्त्र बलमाथि नियन्त्रण राख्दै आएका छन् । यसबीचमा ज्ञानेन्द्रले एकतर्फी रुपमा विद्रोही शक्तिसँग गर्ने भनिएको वार्ता समय वर्वाद गर्ने र यो अवधिमा आफ्नो फाँसिस्ट एजेण्डा लागस् गर्नका लागि शक्ति सञ्चय गर्ने रहेको छ ।
हाल यस शासनसत्ताका सीमित व्यक्तिहरुले अन्तराष्ट्रिय समुदायलाई झुक्याउन तथा आफ्नो क्रुर सैनिक अधिनायकबादलाई पुष्टि गर्न गलत सूचना सम्प्रेषण गर्ने आतुर अभियान नै चलाएका छन् । यसैको सिलसिलामा माओवादीले नेतृत्व गरेको जनताको विद्रोहलाई आतंकबादको संज्ञा दिएका छन् र हालैको असफल शान्तिबार्ताको दोष माओवादीलाई दिएको छ । यथार्थ भने त्यसको ठीक विपरीत छ । जब, सामन्ती शासन, आर्थिक, सांस्कृतिक चिजलाई प्रजातान्त्रिकरण गर्ने कुरामा राजनीतिक रुपले निकास दिने खालका शान्तिपूर्ण वार्ताहरु निहित उद्देश्य भएका परम्पराबादीहरुले बन्द गरे, त्यस पश्चात हामीले शसस्त्र विद्रोह जारी राख्नुपर्ने दायित्व बोध गरेका हौं ।
हामीले जहिले पनि आतंकवाद तथा अग्रगामी परिवर्तनका लागि जनता गोलबद्ध भएको युद्धका बीचमा लक्ष्मणरेखा कोरेका छौं । हामी स्पष्ठ विचारधारा र अग्रगामी सोचका साथ जनताको प्रत्यक्ष सहभागितामा बैज्ञानिक विचारधाराबाट विद्रोह गर्ने शक्ति हौं जसले वर्गीय, जातीय, क्षेत्रीय तथा लैंगिक रुपमा थिचोमिचोमा परेका लाखौं जनताको स्वेच्छिक सहभागितामा युद्ध लड्न सक्छौं र हामीमाथि हुने जुनसुकै षडयन्त्र पनि परास्त गर्न सक्छौं । जसका कारण हामी आफ्नो प्रगतिशील, प्रजातान्त्रिक तथा राजनीतिक उद्देश्य हासिल गर्न सक्छौं । त्यसैले हाम्रो अभियानमा देशैभरि कति मानिसको सहभागिता छ र पुरानो स त्ता कसरी एक्लिदैं र घृणित हुँदै गइरहेको छ भन्ने कुरा तपाईहरु आफ्नै स्वतन्त्र स्रोत परिचालन गरेर प्रमाणित गर्न सक्नुहुन्छ ।
हामीमाथि लगाईएका झुटा आरोप पुराना सत्तासँग हालै गरिएका वार्ताबाट पनि प्रमाणित हुन्छन् । यर्थाथमा हामीले राजनीतिक निकासका लागि आफ्नोतर्फबाट अधिकतम लचकता, धैर्य राख्दै सहमति गर्न पहल गरेकै हौं । तत्काल राजनीतिक निकासका लागि हामीले अन्तरिम सरकार गठन, नयाँ संविधानसभाको मस्यौदा बनाउने तथा गणतन्त्रको घोषणा गर्ने प्रस्ताव गरेका थियौं । यस प्रस्तावलाई समग्रमै अस्वीकार गरी फासीबादी सत्ताका समूहले देशभर शाहीसेना परिचालन गरेपछि हामी पुनः जनतामा जानु र आन्दोलनलाई निरन्तरता दिनुको विकल्प नै थिएन ।
माथिका तथ्यहरुबाट के थाहा पाउन सकिन्छ भने आफन्तमारा तथा राजामारा ज्ञानेन्द्रका वरिपरिका समूहले शाहीसेनालाई हातमा लिएर राज्यशक्ति कसरी आफ्नो हातमा लिएका छन् र जननिर्वाचित सरकार तथा संसद्लाई कसरी मुठ्ठीभित्र दवाएका छन् भन्ने पुष्टि हुन्छ । यस्तो अवस्थामा हामीले अत्यन्त लचकता तथा जिम्मेवारीबोधका साथ आफ्नो घोषित लक्ष्यअनुरुष्को नयाँ जनवाद वा जनताको जनवाद भनिरहेका छैनौं, बरु पुरानो प्रजातन्त्रलाई विस्थापित गर्न गणतन्त्र स्थापना गर्ने र नयाँ संविधानका लागि संविधानसभा चुनाव गनेृ कुरा गरिसकेका छौं । अर्को पक्षले हाम्रो चाहनाप्रति सकारात्मक भएमा हामी हाम्रा सशस्त्र गतिविधि तत्कालका लागि अन्त्य गर्न तथा बिथोलिएको बार्ता पुनः सुचारु गर्न सहमत छौं ।
तसर्थ प्रतिक्रियावादी सत्ताका प्रोपगन्डिस्टकहरुले भनेजस्तै नेपालमा हाल भईरहेका लडाइँ प्रजातन्त्र र आतंकवादवीच होइन् । हामी त सवै वर्ग, जात, लिंग, राष्ट्रिय तथा क्षेत्रीय विभेदलाई अन्त्य गर्ने उद्देश्यले लडिरहेकाले अन्तराष्ट्रिय प्रजातान्त्रप्रतिको आस्थाप्रति सम्मान गर्ने र यसलाई कुठाराघात नगर्न आग्रह गछौं । ढल्नै लागेको पुरानो सत्तालाई सैन्य तथा अन्य सहयोग गर्नुभनेको फासिस्ट सैनिक शक्तिलाई नरसंहार गर्नु र जनताको आधारभूत अधिकारप्रति कुठाराघात गर्नु हो, जो विश्वव्यापी मानवअधिकारको मूल्य-मान्यताविपरीत हुन जान्छ ।
देशका धेरै जनताले पुरानो दमनकारी सत्ताविरुद्ध विद्रोह गरिहेका छन् तथा स्थानीयतहबाटै शासनसत्ता आफ्नो हातमा लिन थालिसकेका छन् । यसकारण केन्द्रमा वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्नु हाम्रो कतव्र्य पनि हो । सो दिशामा अघि बढ्नका लागि संयुक्त क्रान्तिकारी जनपरिषद् निर्माण गरेका छौं । जुन नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को नेतृत्वमा सवै प्रगतिशील र प्रजातान्त्रिक शक्तिलाई कुनै द्विपक्षीय वा बहुपक्षीय निर्णय गर्नुपरेमा नेकपा माओवादी तथा संयुक्त क्रान्तिकारी जनपरिषद्सँग अन्तर्राष्ट्रिय समुदायले परामर्श गर्नेछ भन्ने अपेक्षा राखेका छौं ।
हामीले नेपालमा नयाँ राज्य जन्माउँदै गरेको क्षणमा तपाईहरुलाई हाम्रो प्रतिबद्धताबारे पनि अवगत गराउन चाहन्छौं । हामी प्रजातान्त्रिक शासन प्रणाली अवलम्बन गर्नेछौं । जसमा जनताको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्वतन्त्रताको सुनिश्चितता गरिएको हुनेछ । विदेशनीतिको सन्दर्भमा हामी पञ्चशीलको नीति अवलम्बन गर्नेछौं । हाम्रा दुई विशाल छिमेकी भारत र चीनको क्षेत्रीय रणनीतिक विशेषताप्रति हामी सचेत छौं र हामी कुनै पक्षप्रति नढल्कीकन दुवैसँग मित्रवत व्यवहार गर्नेछौं ।
तुसर्थ हामी अन्तराष्ट्रिय समुदाय, विशेषगरी भारत र चीनसँग के अपेक्षा गछौं भने तपाईहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरी नेपालको राजनीतिक भविष्यको फैसला नेपाली जनतालाई नै गर्न दिनुहुनेछ ।
आगमी दिनमा तपाईहरुसँग द्विपक्षीय राम्रो सम्बन्ध विस्तार हुने आशा राखेका छौं ।
संयोजक
बाबुराम भट्टराई
संयुक्त क्रान्तिकारी  जनपिरषद
अध्यक्ष
प्रचण्ड
नेकपा (माओवादीले) तथा सर्वोच्चमा कमान्डर जनमुक्ति सेना नेपाल
(नयाँ पत्रिकाबाट साभार)