Monday, August 6, 2012

धम्की र आतंकले स्थानिय गाँउलेहरू विस्थापित



सिन्धुपाल्चोक, १६ साउन ।
सशस्त्र समूह नेकपा चेवादीले गोल्चे र सेलाङ गाविसका सबै युवाहरूलाई जबरजस्ती आफ्नो संगठनमा बस्न दबाव दिँदै गाँउमा चन्दा आतंक सिर्जना गरेपछि सेलाङ गाविस-८ स्थित सेवगाउ र गोल्चे गाविस-४ र ५ का पुरुषहरू विस्थापित भएका छन् ।

कम्युनिष्ट नेता चेग्वाराको नामबाट आफुलाई नेकपा चेवादी नामाकरण गरी गत दुई महिनादेखि यस सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा यस समूहले सशस्त्र गतिविधि गर्दै आएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने गोल्चे, पाङताङ, गुम्वा, बराम्ची, सेलाङ जस्ता गाविसहरूका युवाहरूलाई लडाकु बन्न दबाव आएपछि गाँउमा युवाहरू बस्न नसकेको गोल्चेका जालबहादुर लामाले बताए ।

यो समूह अर्थमन्त्री वर्षमान पुनको प्रमुख अतिथ्यमा जलविरे गाविसमा आयोजित माओवादीको आमसभामा बम विष्फोट गरी चर्चामा आएको हो । यस समूहको नेतृत्व गोल्चे गाविस-७ का सोनाम लामाले गरेका छन् । सोनाम लामा माओवादीको सशस्त्र युद्धका बेला माओवादी थिए । पछि उनी तामाङ मुक्ति मोर्चामा रहेको बताउथे । ०६९ जेठमा गोल्चेमा नेकपा चेवादीको नामबाट सशस्त्र सङ्घर्ष गर्ने भनी त्यस भेगका युवाहरू जम्मा गरी हतियार प्रदर्शन गरेका थिए ।

गोल्चे भेगमा हतियार सहितका युवाहरूले गाँउमा आतंकित बनाउँदै हिडेको खबर प्रहरीले पाएपछि प्रहरीले त्यस भेगमा छापा मारेको थियो । नेकपा चेवादीका चार कार्यकर्ताहरूलाई ०६९ असार १६ गते राती भरुवा बन्दुक चार थान, डेटोनेटर, फ्युज वायर, कम्ब्याट ड्रेस, पुस्तकहरू लगायतका युद्धका सामग्री सहित प्रहरीले गिरफ्तारसमेत गरेको थियो ।

चेवादी समूहले हाल आएर स्थानीय गाँउलेहरूसँग ५० हजारदेखि ३ लाखसम्म चन्दा माग गरेपछि गाँउलेहरू विस्थापित भएको उनीहरू बताउँछन् । गाँउ छाडेर हिडेका युवाहरू चेवादी समूहको डरका कारण कुरा खुलेर भन्न सक्दैनन् ।

चेवादीले कार्यकर्ताको लिस्टमा गाँउका सबै युवाहरूको नाम राखेको छ । त्यो लिस्ट प्रहरीले बरामद गरेपछि प्रहरीले गाँउका सबै युवाहरू चेवादीको समूहमा संलग्न भएको आशंका गरेको छ । एकातिर चेवादीका नेताले भूमिगत जान दबाव गरेको अवस्था छ भने अर्कोतिर प्रहरीले चेवादीको आशंका गरेपछि गाँउमा पुरुषहरू नबसेको गोल्चेका पुर्व जनप्रतिनिधिले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

नेकपा चेवादीको धम्कीका कारण गोल्चे गाविस-५ निम्लुङका चिरकने लामा र सोही ठाँउका जरी स्याङबोले घरमा ताला लगाएर परिवार सहित काठमाण्डौ विस्थापित भएका छन् । त्यसैगरी अन्य घरहरूमा महिलाहरू र वृद्धहरूमात्र छन् । अहिले गाँउमा खेती लगाउने समय भएपनि खेतमा आली लगाउने पुरुष कोही नभएको स्थानियले बताए ।
नातीबावु धिताल
स्रोत: इन्सेक अनलाइन

जनयुद्ध थाल्ने भन्दै तीन कम्यूनिष्ट पार्टीबीच एकीकरण

२ साउन, काठमाडौं । नेकपा माओवादी क्रान्तिकारी, नेकपा राष्ट्रवादी र नेपाल जन श्रमिक पार्टीले एकीकरण गरी नेकपा माओवादी क्रान्तिकारी नामक नयाँ पार्टी गठन गरेका छन् ।
सामन्ति राज्यसत्ताको अन्त्य गरी सर्वहारा वर्गको अधिनायकत्व हुने जनवादी सरकार स्थापनाका लागि जनयुद्ध थाल्ने तयारी स्वरुप नयाँ पार्टी गठन गरेको उनीहरुले बताएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरुले आगामी मंसीर १५देखि २१ गतेसम्म पार्टीको एकता महाधिवेश गर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष जनपथले राज्य सत्ता बन्दुकको नालबाट मात्र प्राप्त हुने भन्दै सामन्तहरुको राज्यसत्तालाई पूर्णरुपमा ध्वस्तपारी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्न पार्टीको राजनीतिक लक्ष्य रहेको बताउनु भयो । उहाँले सर्वहारा तथा कम्युनिष्टको झण्डा ओढेर विश्वको कम्युनिष्ट आन्दोलनलाई संसदवादी राजनीतिक गराउने प्रचण्ड, बाबुराम, मोहन वैद्य र मातृकाहरु असफल भएको आरोप समेत लगाउनु भयो ।