Thursday, August 9, 2012

डम्वर रसक भारतीको तुवाँलो लघुकथा सङ्ग्रह बजारमा

 
 असार ३०
साहित्यकार डम्बर रसिक भारतीको दोस्रो लघुकथासंग्रह 'तुवाँलो' सार्वजनिक भएको छ। शुक्रबार राजधानीको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले तुवाँलो सार्वजनिक गरेका हुन्।

डिकुरा पब्लिकेशन्सद्वारा प्रकाशित 'तुवाँलो' लोकार्पणमा उपकुलपति उप्रेतीले रसिकको साहित्यिक यात्रालाई शुभकामना दिंदै उनको कृतिले साहित्यिक विधा लघुकथाको मात्र नभई सिङ्गो नेपाली साहित्यमा एउटा इँटा थपेको बताए। 'नेपाली साहित्यको बजारमा लघुविधाका सिर्जनाहरुमा पाठकहरु उत्साहित भएका छन्,'उनले भने। उनले प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको विकासका लागि विशेष पहलकदमी गरिरहेको बताए।
दुई दशकदेखि साहित्यमा समर्पित रसिकको 'तुवाँलो' अघि 'भूइँकुहिरो' लघुकथासंग्रह र 'प्राथमिक विद्यालय' बालउपन्यास प्रकाशित छन्। जमघट द्वैमासिकका सम्पादक रसिक साहित्यिक पत्रकारितामार्फत् जिल्लाको साहित्य विकासमा सक्रिय रहँदै आएका छन्।
कार्यक्रममा तुवाँलो कृतिमाथि समिक्षात्मक टिप्पणी गर्दै साहित्यकार एवम् युवामञ्च मासिकका प्रधानसम्पादक श्रीओम श्रेष्ठ 'रोदन'ले रसिकका कथाहरु छोटा भएर मात्र लघुकथा नभएको बताए। 'कृतिभित्रका कथाहरु संरचनागत दृष्टिले अब्बल छन्,' उनले भने, 'पचासको दशकमा प्रकाशित भएको रसिकको 'भूइँकुहिरो'मा भन्दा यसमा कथा माझिएका छन्।' उनले रसिकको कथाकारिता अब्बल दर्जाको भएको बताए।
कार्यक्रममा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, 'तुवाँलो'का चित्रकार तथा साहित्यकार अमित घिमिरे, साहित्यकार गेहनाथ गौतमलगायतले रसिकको साहित्यकारिताबारे चर्चा गरेका थिए। कार्यक्रममा 'तुवाँलो'का कथाकार डम्बर रसिक भारतीले कृति प्रकाशनका लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे। कार्यक्रममा जिल्लाका चार दर्जन भन्दाबढी साहित्यकार र पत्रकारहरुको उपस्थिति थियो।

No comments:

Post a Comment