सरकारलाई आन्दोलनबाटै बर्खास्त गरिन्छ: खनाल
एमालेका अध्यक्ष झलनाथ खनालले असंवैधानिक कार्य गरेर जनतामा भ्रम सिर्जना गर्ने वर्तमान सरकारलाई सडक आन्दोलनबाटै बर्खास्त गर्ने गरी सत्ता बाहिरका दलहरुसँग सहमति भएको बताएका छन् ।
उनले एमालेसम्बद्ध जनसङ्गठनहरुको बृहत् भेलालाई मंगलबार सम्बोधन गर्दै उनले संविधानसभाको आयु छँदै वर्तमान सरकारका प्रधानमन्त्री डा बाबुराम भट्टराईले असंवैधानिक प्रक्रियाबाट नयाँ संविधानसभाको मिति घोषणा गर्नु कुनै पनि हालतमा सान्दर्भिक नभएको बताए ।
अध्यक्ष खनालले संविधानका विवादित विषयमा यही जेठ २ गते प्रमुख दलका बीचमा भएको सहमतिबाट माओवादी पछि हटेकाले संविधानसभाको अन्त्य भएको उल्लेख गरे ।
उनले आफूहरूले पाँचबुँदे सहमतिअनुसार संविधानसभाबाट सहमति भइसकेका विषयलाई लिपिबद्ध गरी संविधान निर्माणका प्रक्रिया राख्दै मुलुकलाई संवैधानिक सङ्कटबाट जोगाउन गरिएको भगीरथ प्रयत्न सफल नभएकामा चिन्ता व्यक्त गरे ।
जनप्रतिनिधि निकायलाई कायम राखी संवैधानिक बाटोबाटै नयाँ जनादेशमा जाने उपयुक्त बाटो रहँदारहँदै पनि मुलुकलाई सङ्कटतर्फ अघि बढाउने माओवादी नेतृत्वको सरकारले संवैधानिक र राजनीतिक रूपमा आफ्नो औचित्य गुमाइसकेको उनको दाबी थियो ।
एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब राजनीतिक दलहरूको सहमतिका आधारमा जनआन्दोलनको मर्म र भावनाअनुरूप तथा अन्तरिम संविधानको व्यवस्था वमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि अविलम्ब प्रक्रिया अघि बढाउन आग्रह गरे ।
उनले संविधानसभा भङ्ग भइसकेको स्थितिमा एमाले जनताको सार्वभौमसत्ताको रक्षाका साथै संविधानसभाबाट नयाँ संविधान निर्माणको कामलाई पूर्णता दिन राजनीतिक दलहरूको सहमतिका आधारमा अघि बढ्न तयार रहेको पनि उनको भनाई थियो ।
कार्यक्रममा नेताहरुले संविधानसभा विघटनपछिको अवस्थाबारे आमजनतालाई सुसूचित बनाउन सत्ताबाहिर रहेका नेपाली कांग्रेस, एमालेलगायत दलहरुले आह्वान गरेको बृहत् विरोधसभालाई सफल बनाउन आम समुदायसमक्ष आग्रहसमेत गरे ।
अर्का नेता केपी शर्मा ओलीले, बामदेव गौतम, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, थममाया थापा, जीतु गौतमलगायतले दलहरुको सहमतिबिना नै नयाँ संविधानसभाको घोषणा गर्ने सरकारको कदम असंवैधानिक भएकाले यसविरुद्ध लाग्न र जेठ २६ गते राजधानीमा हुने बृहत् विरोधसभालाई सफल बनाउन आग्रह गरेका थिए ।
No comments:
Post a Comment