कांग्रेस र एमालेको आन्दोलनविरुद्ध कठोर बन्ने संकेत
सडकबाटै प्रधानमन्त्रीलाई हटाउने प्रतिपक्षहरुको चेतावनी, बैद्य पक्षको समर्थन
काठमाडौ, जेष्ठ २३ - सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले कांग्रेस र एमालेले आन्दोलनको नाममा निर्वाचन र अग्रगमनलाई बिथोल्ने षड्यन्त्र गरे सरकारले आन्दोलनविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै उनले संविधानका नमिलेका विषयमा कांग्रेस र एमालेले सहमति जनाए वा निर्वाचनबाट अर्को सरकार आए मात्रै प्रधानमन्त्री पदमुक्त हुने स्पष्ट पार्दै कांग्रेस र एमालेले भन्दैमा प्रधानमन्त्रीको राजिनामा नआउने दाबी गरे ।
उनले भने- ‘मुलुकमा अहिले कांग्रेस र एमालेले भने जस्तो कुनै संवैधानिक संकट छैन । राज्यपुनर्संरचना आयोगले सिफारिस गरेको १० प्रदेशमा कांग्रेस र एमालेले सहमति जनाए तत्कालै प्रधानमन्त्रीले पद छाडिदिनु हुन्छ । चुनाव र अग्रगमनलाई बिथोल्न खोजे कांग्रेस र एमालेको आन्दोलनविरुद्ध सरकार जस्तो सुकै कडा कदम चाल्न पनि तयार छ ।’
एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देवप्रसाद गुरुङले वर्तमान सरकारलाई विस्थापित गरेर सहमतिको सरकार निर्माणका लागि आफ्नो समूह सडक आन्दोलनमा जान तयार रहेको घोषणा गरे ।
उनले सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिने सर्तमा कांग्रेस र एमालेको आन्दोलनलाई समेत समर्थन गर्ने स्पष्ट पारे ।
उनले सरकारले घोषणा गरेको निर्वाचनबाट मुलुकले निकास पाउन सम्भव नरहेको भन्दै बृहद राजनीतिक सम्मेलन गरेर निकास खोज्नुपर्ने बताए ।
शान्ति र संविधानको बाटोमा हिँड्ने नेतृत्वको लाइन असफल प्रमाणित भइसकेकाले लाइन नै परिवर्तन नगरेसम्म पार्टी एकीकरण हुन नसक्ने स्पष्ट पार्दै गुरुङले संगठनात्मक संरचना परिवर्तन गरेरमात्रै एकता हुन सक्ने बताए । उनले भने- आत्मसमीक्षा गरेर गल्ती स्विकारेर लाइन परिवर्तन गरे एकता सम्भव छ ।
कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारले सहमतिका लाग प्रयास तत्काल नथाले जनआन्दोलनबाटै सरकारलाई विस्थापित गर्ने चेतावनी दिए । उनले प्रधानमन्त्रीले पद छाडेको घोषणा नगरेसम्म वर्तमान सरकारसँग कुनै सम्बाद नहुने स्पष्ट पार्दै निरकुंश रुपमा आगाडि आएको सरकारबाट निर्वाचन पनि हुनै नसक्ने ठोकुवा गरे ।
उनले सरकार आफूहरुको आन्दोलनको विरुद्ध आए त्यस विरुद्ध लड्ने चेतावनी समेत दिए ।
सरकारको निर्वाचन घोषणालाई नाटकको संज्ञा दिदै केसीले निर्वाचनको नाटकबाट क्षेत्रीयता र जातीइलाई प्रयोग गर्दै सत्ता कब्जा गर्ने रणनीति अनुसार माओवादी अगाडि बढेको दाबी गरे ।
उनले बैद्य पक्षको बर्चश्व संविधानसभामा देखेपछि माओवादी नेतृत्वले सभासदहरुलाई छलेर संविधानसभा विघटन गराएको दाबी गर्दै सरकार संवैधानिक शून्यता, अराजकता र जातीय द्वन्द्वमा मुलुकलाई फसाउन अगाडि बढेको आरोप लगाए ।
साक्षात्कारमा नेकपा एमालेका सचिव शंकर पोख्रेलले माओवादीको बैद्य समूह र जनआन्दोलनका शक्तिहरुको विचमा एकता गरी मुलुकको संबैधानिक संकटको अन्त्य गर्न सकिने बताए ।
उनले भने- अब संवैधानिक संकटको गाँठो जनआन्दोलनका शक्ति मिलेर मात्र फुकाउन सक्छन् । प्रचण्ड र बाबुरामजी संविधान क्रियाशील गराउने पक्षमा देखिनु हुन्न । उहाँहरूले हिँडेको बाटो संवैधानिकता, सहमति र निर्वाचनको बाटो होइन । यो यात्रा नरोकी नयाँ यात्रा सम्भव छैन ।
No comments:
Post a Comment