काठमाडौं, २२ जेठ- राजनीतिक घटनाक्रमले आर्थिक क्षेत्रमा अन्योल बढेपछि
पछिल्लो दुई महिनायता विज्ञापन बजार ओरालो लागेको छ । प्रतिमहिना ३५ देखि
५० करोड रुपैयाँसम्म कारोबार हुने विज्ञापन बजार वैशाख र जेठमा १५ देखि २०
करोडमा झरेको नेपाल विज्ञापन संघ (आन)ले जनाएको छ । राजनीतिक अस्थिरताले
विज्ञापन बजार खुम्चिएको व्यवसायी बताउँछन् ।
वैशाखदेखि सेलाएको विज्ञापन बजार जेठको दोस्रो सातामा झन्डै आधा घटेको छ ।
“अहिले छापा, विद्युतीय तथा अनलाइनमा समेत विज्ञापन आधाभन्दा तल छ,” आन
अध्यक्ष राजकुमार भट्टराईले भने, “राजधानीका ठूला होर्डिङ बोर्डसमेत खाली
हुँदै गएका छन्, अहिले समग्र विज्ञापन उद्योग सेलाएको छ ।”
जेठ १४ मा संविधान जारी भई नयाँ उद्योगधन्दा विस्तार हुने आशामा व्यवसायी
थिए । नयाँ संविधान जारी भई लगानी वातावरण बन्ने तथा नयाँ उद्योगधन्दा
विस्तार हुनेमा आशामा रहेका व्यवसायी ‘जेठ १४ पछि राजनीतिक संक्रमणकाल
लम्बिएकाले विज्ञापन बजार खुम्चिएको’ बताउँछन् ।
सबैभन्दा धेरै विज्ञापन गर्ने गोल्छा अर्गनाइजेसनले विगत दुई महिनामा
आफ्नो विज्ञापन ६० प्रतिशतमा झरेको बताएको छ । कार्यकारी निर्देशक शेखर
गोल्छाले अन्य समयमा आफूहरूले महिनाको झन्डै ७०–८० लाख रुपैयाँभन्दा माथिको
विज्ञापन गर्ने गरेको जानकारी दिँदै पछिल्ला दुई महिना २५ लाखमा सीमित
भएको बताए ।
चालू आवको अन्त्यसम्म बिज्ञापन बजार साढे ४ अर्ब रुपैयाँ पुग्ने अनुमान
गरिए पनि अहिलेको स्थितिमा असम्भव देखिएको आनको भनाइ छ । गत आवमा ४ अर्ब ३०
करोडको कारोबार भएको थियो । हरेक वर्ष १० देखि १५ प्रतिशतको हाराहारीमा
बढ्दै गएको विज्ञापन बजार चालू वर्षमा भने बढ्ने लक्षण नदेखिएको भट्टराईले
बताए ।
अघिल्लो आबमा झन्डै बराबरी हिस्सा ओगटेका सेवा क्षेत्र र वस्तु बजार
विज्ञापन अनुपात चालू आवका ११ महिनामा फेरिएको छ । अहिले सेवा क्षेत्रको
विज्ञापन ६० प्रतिशतभन्दा धेरै छ । नयाँ वस्तु उत्पादन हुन नसक्दा सेवा
क्षेत्रको विज्ञापन तुलनात्मक रूपमा धेरै देखिए पनि समग्र बजार भने सेलाएको
आनले जनाएको छ । शिक्षाबाहेक सेवातर्फका अन्य क्षेत्र पनि सेलाएको
गोल्छाले बताए ।
बजारमा नयाँ उत्पादन आउन नसक्नु, पुरानै वस्तुका विज्ञापनसमेत घटाउनु,
उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्नुलगायत बजारमा आर्थिक गतिविधि कम
भएकाले उत्पादन क्षेत्रको विज्ञापनमा कमी आएको हो ।
सेवातर्पmका बैंक, वित्तीय संस्था, बिमा, टेलिफोन कम्पनी, कलेज, स्कुल,
म्यानपावरलगायतले विज्ञापन बढाएका छन् । छापा, विद्युतीय तथा ‘आउटडोर’मा
समेत सेवा क्षेत्रको विज्ञापन बढी छ । सम्बद्ध विज्ञापन एजेन्सीका अनुसार
छापामा सेवा क्षेत्रको चाप धेरै छ । कुल सेवा क्षेत्रको विज्ञापनमध्ये
औसतमा ६५–७० प्रतिशत छापा माध्यममा प्रकाशन हुन्छ । चालू आर्थिक वर्षका
पछिल्ला महिनामा लोडसेडिङ बढ्दै गएपछि छापामा सेवा क्षेत्रको विज्ञापन पनि
वैशाखयता आधाभन्दा धेरै घटेको छ ।
नयाँ उद्योग स्थापना हुन नसकेको अवस्थामा स्थापित उद्योगले वस्तुको
विज्ञापनमा कमी ल्याएको संलग्न एजेन्सीले बताएका छन् । नयाँ उद्योगले नयाँ
वस्तु बजारमा ल्याउँदा प्रतिस्पर्धा हुने भएकाले स्थापित कम्पनीले विज्ञापन
गर्ने गरेको व्यवसायी बताउँछन् । अहिले नयाँ वस्तु उत्पादन हुन नसकेकाले
पुराना वस्तु विज्ञापन गर्न कम्पनीले चासो दिएका छैनन् ।
नेपालमा ठूलो उत्पादक कम्पनीमध्ये डाबर नेपालको विज्ञापनसमेत गत वर्षको
तुलनामा आधा कम भएको सम्बद्ध विज्ञापन एजेन्सीले जनाएको छ । त्यस्तै, तयारी
खाजाका रूपमा प्रयोग हुने चाउचाउ, बिस्कुट, कुकिज तथा पेय पदार्थका समेत
उद्योग खुल्न नसकेकाले वस्तुतर्फको विज्ञापन घट्दै गएको छ ।
वर्षका मुख्य चाडपर्व दसैं र तिहारका अवसरमा गरिने ‘पोस्ट फेस्टिबल’मा
हुने स्किम अवधि सकिएकाले पनि विज्ञापन बजार चिसिएको हो । विज्ञापन
क्षेत्रमा मंसिर, पुस र माघलाई ‘अफ सिजन’ मानिने आनले जनाएको छ ।
पछिल्ला तीन सातामा विद्युतीय भन्दा छापा माध्यममा विज्ञापनको अवस्था
नाजुक बनेको अध्यक्ष भट्टराईले बताए । “दसैं–तिहारमा दिइएका स्किम सकिए र
जेठ १४ को अन्योलले प्रवद्र्धनात्मक क्याम्पेन हुन सकेनन्,” उनले भने, “र,
उत्पादक, उद्योगी–व्यवसायी तथा उद्योगको सुरक्षा कमजोर भयो, यी सबै कारणले
विज्ञापन बजारलाई सोझै असर पारेका हुन् ।”
No comments:
Post a Comment